
चितवन । दावेदार मध्ये एक त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नारायणगढ स्थित क्याम्पाचौर खेलमैदानमा सम्पन्न क्वाटरफाइनल खेलतर्फ दोस्रो रोजाईको टोली लिएर उत्रिएको आर्मीले दश खेलाडीमा सिमित हुन पुगेको सुनौलो संगम युवा क्लब, रुपन्देहीलाई ५–० ले हरायो ।
खेल शुरु भएको दशौं मिनटमा सन्तोष केसीले आर्मीका लागि पहिलो गोल गरे । ३५औं मिनटमा सुशान्त चौधरीले त्यो अग्रता दोब्बर पारे । त्यस्तै पहिलो हाफ कै इन्जुरी समयमा राजेश पौडेलले तेस्रो गोल थप्दै आर्मीको अग्रता तेब्बर पारेका थिए ।
खेलको अन्तिमतिर दुई मिनट भित्र आर्मीले थप दुई गोल गर्न सफल भएको थियो । ८१औं मिनटमा सन्तोष केसीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे भने त्यसको उक मिनट लगतै सुशान्त चौधरीले पनि व्यक्तिगत दोस्रो तथा आर्मीका लागि पाँचौं गोल गर्दै टोलीको शानदार जित पक्का गरेका थिए ।
खेलमा सुनौलो संगमका आशिष गुरुङले रातो कार्ड खाँदै मैदान छाड्दा रुपन्देहीको टोली दश खेलाडीमा सिमित हुन पुगेको थियो । जसको फाईदा आर्मीले उठाउन भने सफल भयो ।
खेलको म्यान अफ द म्याच आर्मीका सन्तोष केसी घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र १६ गतेको खेल लेखनाथ युनाइटेड, कास्की र बागमती युवा क्लब, सर्लाहीबीच हुने आयोजकले जनाएको छ ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने यहि चैत्र २१ गतेका दिन हुनेछ ।