
बर्दघाट । लेखनाथ युनाइटेड, पोखरा कास्की यहाँ जारी प्रथम उपमेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको दोस्रो क्वाटरफाइनलमा अभिषेक चर्च, रजहरमाथि ३–० को सहज जित निकाल्दै लेखनाथले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । बर्दघाट–४ क्याम्पा चौर खेलमैदानमा भएको खेलको दोस्रो मिनटमै पार्वती घलेले लेखनाथका लागि पहिलो गोल गरेकी थिईन् ।
पहिलो हाफकै २६औं मिनटमा दिपा शाहीले त्यो अग्रता दोब्बर पारिन् । खेलमा विपक्षीमाथि हावी बनेको लेखनाथका लागि तेस्रो गोल भने दोस्रो हाफको १५औं मिनटमा पार्वती घलेले नै गरिन् । घलेको त्यो व्यक्तिगत दोस्रो गोल समेत थियो ।
खेलको प्लेयर अफ द म्याच पनि लेखनाथका लागि दुई गोल गरेकी पार्वती घले नै घोषित भईन् । प्रतियोगिता अन्तरगत चैत्र १२ गते बिहीबारको तेस्रो क्वाटरफाइनल खेल सरावल गाउँपालिका र बर्चुली माविबीच हुने खेल संयोजक भरत गुरुङले जानकारी दिए ।
बर्दघाट नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५०० हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्ने संयोजक गुरुङले बताए । फाइनल खेल भने यहि चैत्र १७ गतेका दिन हुनेछ ।