
काठमाडौं । थ्री नेशन्स कप अन्तर्राष्टिय फुटबल प्रतियोगिता चैत १० गते मंगलबारदेखि काठमाडौंमा शुरु हुँदैछ । प्रतियोगितामा आयोजक राष्ट नेपालसहित बंगलादेश र किर्गिस्तानको ओलम्पिक टोली सामेल छन् ।
प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भईसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बताईसकेको छ । यसैबीच प्रतियोगिताको पूर्व सन्ध्यामा सोल्टी होटलमा पत्रकार सम्मेलनको आयोजना समेत गरियो ।
प्रतियोगितामा नेपालका स्टार मिडफिल्डर रोहित चन्द उपकप्तान रहेको एन्फाले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै रोहितले लामो समयपछि दर्शकहरुकाबीच फुटबल खेल्न उत्साहित रहेको बताएका छन् ।
साथै रोहितले विपक्षी टोलीहरु राम्रो रहेको बताउँदै भन्छन्, "उनीहरु राम्रो टोली हुन् । तर हामीले पनि राम्रो तयारी र अभ्यास गरेका छौं । प्रतियोगितामा हामी पनि राम्रो गर्नेमा विश्वस्त छौं ।"
उता नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने बंगलादेश विरुद्धको पछिल्लो खेलको नतिजालाई बिर्सेर राम्रो प्रदर्शन गर्ने बताए । प्रशिक्षक महर्जनले राम्रो प्रदर्शनले नै राम्रो नतिजा आउने समेत स्पष्ट पारे । स्मरण रहोस, नेपालले केही महिना अघि बंगलादेशसँग खेलेको दुई मैत्रीपूर्ण खेलमध्ये एकमा हार र एकमा बराबरी खेलेको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार बंगलादेश र किर्गिस्तान भिड्दै छन् । नेपालले आफ्नो पहिलो खेल चैत्र १२ गते किर्गिस्तानसँग खेल्नेछ । त्यस्तै १४ गतेका दिन बंगलादेशसँग खेल्नेछ । लिग चरणको खेलपश्चात् शिर्ष दुई टोली चैत्र १६ गते फाइनलमा भिड्ने छन् ।
प्रतियोगिताको सबै खेलहरु दशरथ रंगशालामा हुनेछन् । सबै खेल शुरु हुने समय बेलुकाको ५ः३० बजे तोकिएको एन्फाले जनाएको छ ।