
हेटौडा । स्थानीय तह शहिद स्मृति गोल्डकप तेस्रो संस्करण २०७७ अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सोमबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको छ ।
यहि फागुन २७ गतेदेखि हेटौडा–१० स्थित फरेष्ट्री खेलमैदानमा हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रिगल हेटौडा रिसोर्ट मकवानपुर–११ र नव जनजागृति युवा क्लब, सिमरा भिड्ने छन् ।
कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिए ।
त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद हात पार्नेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुले जनही २५–२५ हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि १० हजार पुरस्कारको व्यवस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले बताए ।
प्रतियोगितामा लिग च्याम्पियन मच्छिन्द्र सहित ६ ए डिभिजन क्लबहरुले सहभागिता जनाउँदै छन् । त्यस्तै एक विदेशी, एक आयोजक र दुई मोफसलका टोलीहरुले सहभागिता जनाउने संयोजक बिष्टले बताए । प्रतियोगिताको फाइनल खेल चैत ७ गतेका दिन हुनेछ ।