News सुर्मादेवी महिला च्याम्पियन, ईलाईटले जित्यो पुरुष उपाधि
गोलनेपाल

कैलारी । कैलालीको कैलारी गाउँपालिका–४, के गाउँमा भदौ २० गतेदेखि सञ्चालन भएको २७औँ निसर्ग महिला तथा पुरुष फुटबल प्रतियोगिता–२०८३ बुधबार महिला र पुरुषतर्फका फाइनल खेलसँगै सम्पन्न भएको छ। महिलातर्फ सुर्मादेवी युवा क्लब, कैलाली तथा पुरुषतर्फ ईलाईट युवा क्लब, वनकट्टा, कैलारी च्याम्पियन बनेका छन्।

महिलातर्फको फाइनलमा सुर्मादेवी युवा क्लब, कैलालीले न्यू कालिका युवा क्लब, पुनर्वास, कञ्चनपुरलाई १–० ले पराजित गर्दै उपाधि जित्यो। पहिलो हाफको ३१औँ मिनेटमा सरस्वती नेपालीले गरेको गोल नै निर्णायक बन्यो। सरस्वती नेपाली खेलको उत्कृष्ट खेलाडी घोषित भइन्।

महिलातर्फ अनुका शाही उत्कृष्ट गोलरक्षक, सुर्मादेवीकी कप्तान बिपना स्नेही उत्कृष्ट डिफेन्डर तथा आशिका थापा प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। सर्वाधिक गोलकर्ताको पुरस्कार भने दुई गोलसहित सुर्मादेवीकी सरस्वती नेपाली र न्यू कालिकाकी विविशा बिष्टले संयुक्त रूपमा पाए। न्यू कालिकाका हिमाल मल्ल उत्कृष्ट प्रशिक्षक चुनिए।

पुरुषतर्फ ईलाईट युवा क्लब, वनकट्टा, कैलारीले संघर्ष स्पोर्ट्स क्लब, मालाखेती, गोदावरीलाई १–० ले हराउँदै उपाधि आफ्नो नाममा गर्यो। खेलको ५८औँ मिनेटमा भरत टमटाले फागुराम थारूको पासमा निर्णायक गोल गरे। भरत टमटा खेलको उत्कृष्ट खेलाडी घोषित भए।

पुरुषतर्फ ईलाईटका दिपक बोहरा उत्कृष्ट गोलरक्षक, बिष्णु चौधरी उत्कृष्ट डिफेन्डर, सन्दीप सिंह ठकुरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी तथा कृष्ण चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए। संघर्षका आयुष तामाङ सर्वाधिक गोलकर्ता बने।

प्रतियोगितामा पुरुषतर्फ १६ तथा महिलातर्फ ८ टोली सहभागी थिए। पुरुषतर्फ च्याम्पियनले रु. १ लाख र उपविजेताले रु. ५० हजार, महिलातर्फ च्याम्पियनले रु. ४० हजार र उपविजेताले रु. २५ हजार प्राप्त गरे।

न्यु युवा सुन्दर शक्ति क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि., धनगढी–५, हसनपुर, कैलाली रहेको थियो। कैलारी गाउँपालिका मुख्य प्रवर्द्धक तथा कैलारी गाउँपालिका–४ वडा कार्यालय सह–प्रवर्द्धक रहेका थिए। प्रतियोगिताको नारा “खेलकुद नै विकासको आधार हो” रहेको थियो।

Post Comments