News पूर्वाञ्चल युनाइटेडले जित्यो प्रथम तरहरा कपको उपाधि
गोलनेपाल

तरहरा । सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित बौवासी खेल मैदानमा सम्पन्न प्रथम तरहरा कप फुटबल प्रतियोगिताको फाइनल खेलमा सतीसाले स्पोर्टिङ क्लब, मोरङलाई १–० गोलले पराजित गर्दै पूर्वाञ्चल युनाइटेडले उपाधि उचाल्न सफल भएको छ।

आज सम्पन्न फाइनल खेलमा पूर्वाञ्चल युनाइटेडका दोर्जे तामाङले पहिलो हाफमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए। उनको सोही गोल निर्णायक बनेपछि पूर्वाञ्चल युनाइटेडले प्रथम तरहरा कपको उपाधि चुम्न सफल भयो।

सतीसाले स्पोर्टिङ क्लबले खेलका दुवै हाफमा गोल गर्ने थुप्रै अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन। विशेषगरी नितेस लिम्बू र प्रवेश बस्नेतले प्राप्त गरेका उत्कृष्ट अवसरलाई गोलमा परिणत गर्न नसक्दा सतीसाले स्पोर्टिङ क्लब उपविजेतामै सीमित बन्न पुग्यो।

उपाधि विजेता पूर्वाञ्चल युनाइटेडले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, उपविजेता सतीसाले स्पोर्टिङ क्लबले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

फाइनल खेलमा सतीसाले स्पोर्टिङ क्लबका नितेस लिम्बू प्लेयर अफ द म्याच घोषित भए। त्यस्तै, प्रतियोगिताका विभिन्न व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरूलाई समेत पुरस्कार प्रदान गरिएको छ।

बेस्ट गोलकिपर: रोशन कार्की

बेस्ट डिफेन्डर: बिजे राई

बेस्ट मिडफिल्डर: दोर्जे तामाङ

राइजिङ प्लेयर: सुमन चाम्लिङ राई

बेस्ट कोच: विभस गुरुङ

हाइएस्ट स्कोरर: सन्दीप लिम्बू — ३ गोल

प्लेयर अफ द टुर्नामेन्ट: सुजन चौधरी — पूर्वाञ्चल युनाइटेड

प्रतियोगिताका व्यक्तिगत विधाका अधिकांश पुरस्कारमा पनि पूर्वाञ्चल युनाइटेडको वर्चस्व रह्यो। बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट कोच तथा प्लेयर अफ द टुर्नामेन्टलगायतका विधामा पूर्वाञ्चल युनाइटेडसँग सम्बन्धित खेलाडी तथा प्रशिक्षकले पुरस्कार जित्न सफल भए।

 

Post Comments