काठमाडौं (एजेन्सी) । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै रोमाञ्चक जितका साथ साविक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राती सम्पन्न प्रिक्वाटरफाइनलतर्फ अर्जेन्टिनाले इजिप्टमाथि ३–२ को पूनःरागमन जित निकाल्दै अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो । यद्यपि खेलमा इजिप्टले सनसनीपूर्ण अग्रता बनाएको थियो ।
खेलको १५औं मिनटमा यासेर इब्राहिमले इजिप्टका लागि पहिलो गोल गरे । लगतै खेलमा अर्जेन्टिनालाई फर्कने अवसर थियो । २१औं मिनटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पाए पनि लियोनल मेसीले त्यो पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।
त्यस्तै दोस्रो हाफको ६७औं मिनटमा मोस्तफा जिकोले इजिप्टका लागि दोस्रो गोल गर्दै अफ्रिकी टोलीलाई २–० को अप्रत्याशित स्थितिमा पुर्याए । तर अर्जेन्टिनाले खेलमा हार मानेन ।
७९औं मिनटमा क्रिष्टियन रोमेरोले अर्जेन्टिनाका लागि पहिलो गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । लगतै ८३औं मिनटमा लियोनल मेसीले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए भने ९०औं मिनटमा एन्जो फर्नान्डेजले तेस्रो गोल गर्दै अर्जेन्टिनाको रोमाञ्चक पूनःरागमन जित पक्का गरे ।
अर्जेन्टिनाले क्वाटरफाइनलमा अब जुलाई ११ तारीखका दिन स्वीजरल्याण्ड वा कोलम्बियासँग खेल्नेछ । स्मरण रहोस, स्वीजरल्याण्ड र कोलम्बिया पनि मंगलबार राती नै अन्तिम प्रिक्वाटरफाइनल खेलमा आमने सामने हुँदैछन् ।