दिपनगर । होमिज फुटबल क्लब र शिवनगर फुटबल क्लब रुपन्देहीमा जारी नव एकता कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा होमिजले भैरव फुटबल क्लबलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा होमिजका गोलरक्षक प्रकाश चौधरी म्यान अफ द म्याच बने ।
दिनको दोस्रो खेलमा शिवनगरले डि–युनिटी क्लबलाई १–० ले पराजित गर्यो । शिवनगरको जितमा बिक्की थापाले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता शिवनगरका बिक्की थापा नै म्यान अफ द म्याच चुनिए ।
नव एकता युवा क्लब, तिलोत्तमा–८, प्रदिपनगर तथा प्रदिपनगर टोल विकास संस्थाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २७ गतेका दिन हुनेछ ।