इटहरी । सुनसरीमा सोमबारदेखि शुरु भएको कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा फेयर फुटबल क्लब, सुनसरी र सृजनशील महिला फुटबल क्लब, तेह्रथुम सेमिफाइनलमा प्रवेश गरेका छन् ।
दिनको पहिलो खेलमा फेयरले काकरभिट्टा महिला फुटबल क्लब, झापालाई ३–० को अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो । फेयरको जितमा दिपा राईले दुई गोल गरिन् भने थप एक गोल प्रजिता राईले गरीन् । खेलमा दुई गोल गरेकी फेयर एफसीकी दिपा राई प्लेयर अफ द म्याच बनिन् ।
त्यस्तै दोस्रो खेलमा सृजनशीलले बेलबारी फुटबल क्लब, मोरङलाई टाईब्रेकरमा ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा सृजनशीलकी गोलरक्षक करुणा बुढाथोकी प्लेयर अफ द म्याच बनिन् ।
प्रतियोगिता अन्तर्गत असार १६ गते मंगलबार अन्तिम दुई क्वाटरफाइनल खेलहरु हुनेछन् । जसमा धनकुटा जिल्ला फुटबल संघ, धनकुटाले आत्मा पबित्र एससी, इलामको सामना गर्नेछ भने अर्को खेलमा गाईघाट फुटबल क्लब, उदयपुरले इटहरी फुटबल क्लब, सुनसरीको सामना गर्नेछ ।
इटहरी फुटबल क्लब, सुनसरीको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही असार २० गतेका दिन हुनेछ ।