News शनिश्चरे एफसी बिर्तामोड च्यालेञ्ज कपको सेमिफाइनलमा
रमेश समदर्शी

बिर्तामोड । टाइब्रेकरमा बाजी मार्दै अर्जुनधाराको शनिश्चरे एफसी डोमालाल राजवंशी रंगशालामा जारी बिर्र्तामोड युनाइटेड च्यालेञ्ज कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड युनाइटेड क्लबले आयोजनामा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा कनकाई स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ५-३ गोलअन्तरमा पराजित गर्दै शनिश्चरेले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलको निर्धारित खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।

प्रतिस्पर्धात्मक खेलको ६१औँ मिनेटमा कनकाईका कृष्ण राईले गोल गर्दै अग्रता दिलाएका थिए । राष्ट्रिय टोलीका सदस्यले भरिएको कनकाईको टिम अन्तिम समय सम्हालिन नसक्दा शनिश्चरेले बराबरी गोल फर्कायो ।

शनिश्चरेका लागि प्रदिप बुढाथोकीले खेलको ८०औँ मिनेटमा हेडर गोल गरेपछि टिमले कमब्याक गरेको हो । टाइब्रेकरमा कनकाईका अभिषेक लिम्बूको प्रहार शनिश्चरेका गोलरक्षक अनुप तामाङले रोकेका थिए ।

कनकाईका लागि आशिष लावती, आदित्य बानियाँ र सागर तिवारीको प्रहारमात्र गोलमा परिणत भएको थियो । शनिश्चरे एफसीका लागि बादल तामाङ, विशाल तामाङ, आयुश राई, सौरभ लिम्बू र देवेन्द्र तामाङको प्रहार गोलमा परिणत भयो ।

शनिश्चरे एफसीका गोलरक्षक अनुप तामाङ प्लेयर अफ दी म्याच बने । उनले नगद ३ हजारसहित ट्रफी पाए । उनलाई फुटबल प्रशिक्षक प्रवेश कटुवाल, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, झापा जिल्ला हक्की संघका अध्यक्ष मनोज बुढाथोकी र प्रतियोगिता संयोजक अनिष सुवेदीले पुरस्कार प्रदान गरेका थिए ।

आठ टिम सहभागी रहेको प्रतियोगितामा भोलि -मंगलबार) बेलबारी एफसी मोरङले बगान युथ क्लब झापासँग तेस्रो क्वाटरफाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजार १११ रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्दा उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ, मेडल र ट्रफी पाउनेछ ।

Post Comments