
काठमाडौं (एजेन्सी) । एएफसी महिला एसियन कप छनौटतर्फ जोर्डनमा जारी समूह ए को खेलहरुमा दक्षिण एसियाको एक्लो टोली भुटानले उत्कृष्ट लयलाई कायम राख्दै लगातार दोस्रो जित हात पारेको छ ।
आफ्नो पहिलो खेलमा बलियो सिंगापुरलाई हराएको १७१औं वरियताको भुटानले बिहीबार १३०औं वरियताको लेबनानमाथि २–१ को रोमाञ्चक जित दर्ता गर्यो । भुटानको जितमा दुवै गोल पेमा छिरिङको नाममा रह्यो । पेमाले पहिलो हाफको इन्जुरी समयमा शुरुवाती गोल गर्दै खेलमा भुटानलाई अग्रता दिलाएकी थिईन् ।
तर खेलको अन्तिम समय नाटकीय र रोमाञ्चक बन्यो । खेलको ८१औं मिनटमा पिलार खौरीले लेबनानका लागि बराबरी गोल फर्काइन् । तर लेबनानले त्यो बराबरी गोलको खुशी धेरैबेर मनाउन सकेन । गोल खाएको पाँच मिनट लगतै ८६औं मिनटमा पेमा छिरिङले नै भुटानका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको महत्वपूर्ण जित पक्का गरिन् ।
समूह ए कै अर्को खेलमा इरानले सिंगापुरलाई ४–० ले हरायो । यो नतिजापछि २ खेलबाट ६ अंक जोडेको भुटान समूह ए को शिर्ष स्थानमा छ । एक–एक खेल खेलेका आयोजक जोर्डन र इरान समान ३–३ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन लेबनान र सिंगापुर भने क्रमशः चौथो र पाँचौं स्थानमा छन् ।
समूहको शिर्ष टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपका लागि छनौट हुनेछ । दक्षिण एसियाबाट यसअघि भारत र बंगलादेशले एएफसी महिला एसियन कपमा स्थान बनाईसकेका छन् ।
- साफ यु–२० महिला च्याम्पियनसिपः नेपालको पनि विजयी शुरुवात
- साफ यु–२० महिला च्याम्पियनसिपमा आयोजक बंगलादेशको शानदार शुरुवात
- युइएफए महिला युरोः नर्वे र आयोजक स्वीजरल्याण्ड क्वाटरफाइनलमा
- युइएफए महिला युरोः फ्रान्सको लगातार दोस्रो जित, इङल्याण्डको सम्भावना पनि कायमै
- फिफा क्लब विश्वकपः रियललाई निरीह बनाउँदै पिएसजी फाइनलमा