News मायादेवी कपः नवयुवा, डिवाइसी र जागृति सेमिफाइनलमा
सुरज राना मगर

मायादेवी । नवयुवा क्लब, डिवाइसी र जागृति युवा क्लब यहाँ जारी प्रथम मायादेवी कप सिक्स ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मायादेवी गाउँपालिका–८, बसडिलवा स्थित स्थानीय खेलमैदानमा भएको क्वाटरफाइनल खेलहरुतर्फ पहिलो खेलमा नवयुवाले भैरव एफसीलाई १–० ले हरायो । खेलमा नवयुवाका लागि बिशाल सुनारले एक मात्र निर्णायक गोल गरे ।

त्यस्तै दोस्रो खेलमा डिवाइसीले दिपज्योति क्लबलाई समान १–० को अन्तरले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गर्यो । डिवाइसीका लागि काकु थापाले एक मात्र निर्णायक गोल गरे ।

त्यसैगरी अन्तिम क्वाटरफाइनलमा जागृतिले माछापुच्छ्रे फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा जागृति ३–२ ले विजयी बन्दै सेमिफाइनल प्रवेश गर्यो । स्मरण रहोस, यी तीन टोली बाहेक आयोजक मायादेवी युवा क्लब यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिता अन्तर्गत असार २५ गते बुधबार बिश्राम दिइएको खेल संयोजक गणेश शाहीले जानकारी दिए । साथै असार २६ गते दुई सेमिफाइनल खेलहरु हुने समेत संयोजक शाहीले बताए ।

मायादेवी युवा क्लब, मायादेवी गाउँपालिका–८, बसडिलवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेृ खेल संयोजक गणेश शाही ठकुरीले जानकारी दिए ।

मायादेवी गाउँपालिकासहित मायादेवी वार्ड नम्बर ८ को कार्यालय, मायादेवी ब्रेस्ट केयर सेन्टर, रुपन्देही, होटल यात्री, भैरहवा, एक्सपर्ट ऐजुकेशन, भैरहवा, फ्युचर लाईट इङलिस स्कुल, रुपन्देही तथा किंग्स क्याफे, भैरहवाको विशेष सहयोग र प्रायोजन रहेको प्रतियोगिताको विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । फाइनल खेल आउँदो असार २८ गतेका दिन हुनेछ ।

 

 

Post Comments