
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली फिफा वरियतामा एक स्थान तल खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जुन महिनाका लागि निकालेको ताजा वरियतामा नेपाल एक स्थान तल झर्दै १००औं स्थानमा पुगेको हो ।
एएफसी महिला एसियन कप छ्नौट खेल्ने तयारीमा रहेको नेपालले केही साता अघि मात्र थाइल्यान्डसँग उसकै घरमा एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्यच खेलेको थियो । जुन खेलमा नेपाल ०-२ को अन्तरले पराजित भएको थियो ।
दक्षिण एसियातर्फ भने नेपाल भारतपछी दोस्रो स्थानमा यथावत छ । भारत पनि वरियतामा एक स्थान तल झर्दै ७०औं स्थानमा पुगेको छ ।
त्यस्तै १२८औं स्थानमा उक्लिएको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ । १५७औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ चौथो स्थानमा रहँदा १५९औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ पाँचौ स्थानमा छ ।
त्यसैगरी १६३औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ छैटौं स्थानमा छ भने १७१औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ सातौं स्थानमा रहेको छ ।
विश्व वरियताको शिर्ष स्थानमा भने विश्व विजेता स्पेन छ । दोस्रो स्थानमा पुर्ब विश्व विजेता अमेरिका रहँदा तेस्रो स्थानमा जर्मन,कायम छ ।