तेस्रो न्यु युथ युनियन कप जेठ ६ गतेदेखि
सुरज राना मगर

तानसेन । पाल्पाली फुटबलमा फरक पहिचान र उपलब्धी हासिल गर्न सफल न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा यही जेठ ६ गतेदेखि तेस्रो नयु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

शनिबार आयोजक क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सबै तयारीहरु पूरा भईसकेको जानकारी दियो । तानसेन स्थित टुंडिखेल मैदानमा हुने प्रतियोगितामा पाल्पा र आसपासका जिल्लाका गरी कुल १२ टोलीहरु सहभागि हुने प्रचारप्रसार संयोजक अमृत केसीले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक अमृत केसीले बताए । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।

पत्रकार सम्मेलन मै बोल्दै पाल्पाली फुटबलका सफल प्रशिक्षक र पूर्व शिर्ष डिभिजन खेलाडी रितेश मल्लले प्रतियोगितालाई यसपटक थप फरक रुपमा आयोजना गरी पाल्पाली फुटबलको गरिमा बढाउन टेवा पुर्याउने उद्देश्य लिएको बताए । सोही अवसरमा आयोजक क्लबका अध्यक्ष ताम बहादुर कुमालले प्रतियोगिता पाल्पाली फुटबल कै पहिचान र प्रतिष्ठा भएकाले तेस्रो न्यु युथ युनियन कपलाई सफल पार्न सबैको साथ, सहयोगको अपेक्षा गरेको समेत बताए ।

सोही अवसरमा पाल्पा जिल्ला फुटबल संघका उपाध्यक्ष प्रज्वल उदयले प्रतियोगिता सफलताको शुभकामना दिए । साथै उनले प्रतियोगिता सम्पन्न गर्न केही थान फुटबल पनि हस्तान्तरण गरे । उनले प्रतियोगितालाई पाल्पा जिल्ला फुटबल संघको सक्दो सहयोग र समर्थन रहने समेत बताए ।

Post Comments