२८औँ भुजि लिगः लिग चरणका खेलहरू सम्पन्न
गोलनेपाल

रामेछाप। उमाकुण्ड गाउँपालिका–७, भुजि स्थित अमृत घामछायाँ खेल मैदानमा फुटबल क्लब भुजि (एफसीबी) को आयोजनामा तथा उमाकुण्ड गाउँपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको २८औँ भुजि लिग रनिङशिल्ड फुटबल प्रतियोगिताको तेस्रो दिनका खेलहरू सम्पन्न भएका छन्।

प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा फुटबल क्लब भुजि (एफसीबी) ‘ए’ र मिलनचोक युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो। निकै रोमाञ्चक बनेको उक्त खेलमा निर्धारित समयसम्म दुवै टोलीले १–१ गोलको बराबरी खेले।

त्यस्तै, दोस्रो खेलमा गत संस्करणको विजेता लिभुरा एफसीले सुनुवार युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै जित हासिल गर्‍यो।

तेस्रो खेलमा उमाकुण्ड–६ र बाम्ती भण्डार–२ बीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा समाप्त भयो।

चौथो खेलमा यलुङ युनाइटेडले एनटी एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै जित निकालेको थियो।

त्यसैगरी लिग चरणको अन्तिम तथा पाँचौँ खेलमा टिम जिरी र प्रति–५ बीच प्रतिस्पर्धा भएको थियो। निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा टिम जिरीले प्रति–५ लाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भयो।

तेस्रो दिनका खेलसँगै प्रतियोगिताको लिग चरणका सम्पूर्ण खेल सम्पन्न भएका छन्। अब प्रतियोगितामा सहभागी टोलीहरूबीचको प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने अपेक्षासहित भोलिदेखि क्वाटरफाइनलका खेलहरू सुरु हुनेछन्।

प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख ४८ हजार ८२८ सहित एक किलो चाँदी र एक तोला सुनको जलप लगाइएको आकर्षक रनिङशिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीले नगद रु. ७४ हजार ८२८ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै, प्रतियोगिताको व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ। सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही रु. १८ हजार ८२८ प्राप्त गर्नेछन्।

Post Comments