२४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

कोटिहवा । रुपन्देही जिल्लाको पुरानो र प्रतिष्ठित मध्ये एक २४औं लिस्नु कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा यही भाद्र ३१ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा रुपन्देहीसहित पाल्पा, नवलपरासी, चितवन, कपिलवस्तु र स्याङ्जाका गरी कुल १२ टोलीहरुको सहभागिता रहने खेल संयोजक रोमन गुरुङले बताए । प्रतियोगिताको फाइनल र समापन भने असोज ११ गतेका दिन हुनेछ । प्रतियोगिता तिलोत्तमा–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा हुने समेत खेल संयोजक गुरुङले जानकारी दिए ।

क्लबका सचिव मनोज कुमार क्षेत्रीले स्वागत मन्तव्यसहित सञ्चालन गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको पुरस्कार राशी लगायतको पनि जानकारी गराइयो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष तथा आर्थिक संयोजक प्रकाश पाण्डे क्षेत्रीले बताए ।

तिलोत्तमा नगरपालिका, वार्ड नम्बर १५ को कार्यालय मुख्य प्रायोजक रहेको प्रतियोगिता सम्पन्न गर्न ३० लाख ३७ हजार बढी रुपैयाँ खर्च हुने अनुमान गरिएको समेत आर्थिक संयोजक प्रकाश पाण्डे क्षेत्रीले जानकारी दिए ।

त्यस्तै खेल अवलोकन गर्ने दर्शकहरुका लागि टिकटदर पहिलो चरण र क्वाटरफाइनल खेलसम्म रु. १०० तथा सेमिफाइनल र फाइनल खेलमा २०० रुपैयाँ तोकिएको पनि जानकारी गराईयो । त्यसबाहेक महिला दर्शकहरुलाई सेमिफाइनल र फाइनलमा टिकट मुल्यमा ५० प्रतिशत छुट दिइएको समेत आयोजकले जानकारी दियो ।

सोही अवसरका तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ का वार्ड अध्यक्ष तथा आयोजक क्लबका प्रमुख सल्लाहकार समेत रहेका खेमराज गुरुङ (मुन्ना) ले प्रतियोगिताको सफलताको शुभकामनासहित आफ्नोतर्फबाट गर्नुपर्ने साथ, सहयोग निरन्तर रहने बताए ।

त्यस्तै लिस्नु युवा क्लबका अध्यक्ष तिर्थराज मल्लले सदा झैं यसपटक पनि लिस्नु कपलाई सबैको साथ, सहयोग र शुभेच्छा मिल्ने विश्वास व्यक्त गरे । उनले प्रतियोगितालाई यसपटक पनि भव्य रुपमा सम्पन्न गर्न आफूहरुले हरतरहको प्रयास गर्ने प्रतिद्धता जनाए ।

हेर्नुहोस २४औं लिस्नु कपको खेलतालिकाः

Post Comments