कालीगण्डकी गोल्डकपमा होराइजन र ज्योतिपुञ्ज सेमिफाइनलमा
गोलनेपाल

स्याङ्जा। स्याङ्जाको चापाकोटमा जारी आठौँ कालीगण्डकी गोल्डकप २०८३ अन्तर्गत सोमबार सम्पन्न खेलबाट होराइजन क्लब, वालिङ र ज्योतिपुञ्ज युवा क्लब, रामपुर सेमिफाइनलमा प्रवेश गरेका छन्। पहिलो खेलमा आयोजक द राइजिङ ग्रुपलाई २–० गोलले पराजित गरेको होराइजनले अन्तिम चारमा स्थान बनाउँदा दोस्रो खेलमा भदौरे क्लब, अन्नपूर्णलाई ६–१ गोलले हराउँदै ज्योतिपुञ्जले शानदार जित दर्ता गर्‍यो।

पहिलो खेलमा होराइजन क्लब, वालिङ, स्याङ्जाले आयोजक द राइजिङ ग्रुप, चापाकोट, स्याङ्जालाई २–० गोलले पराजित गर्‍यो। खेलको २६औँ मिनेटमा टीकाराज गुरुङले गोल गर्दै होराइजनलाई अग्रता दिलाए। मध्यान्तरसम्म १–० ले अगाडि रहेको होराइजनका लागि दोस्रो हाफको ६८औँ मिनेटमा गणेश हमालले अर्को गोल थपे। आयोजकमाथि जित निकाल्दै सेमिफाइनल पुगेको होराइजनका कप्तान विश्वास श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भए।

दोस्रो खेलमा ज्योतिपुञ्ज युवा क्लब, रामपुर, पाल्पाले भदौरे क्लब, अन्नपूर्ण, कास्कीलाई ६–१ गोलले पराजित गर्‍यो। खेलको २२औँ मिनेटमा सौरभ क्षेत्रीले गोल गर्दै ज्योतिपुञ्जलाई अग्रता दिलाए। पहिलो हाफको अतिरिक्त समयमा सुनिल थापाले दोस्रो गोल थपेपछि ज्योतिपुञ्जले मध्यान्तरसम्म २–० को अग्रता बनाएको थियो।

दोस्रो हाफमा बसन्त कुमालले ३७औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता बढाए। सुनिल थापाले ४०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने ५०औँ मिनेटमा तेस्रो गोल गर्दै प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे। भदौरेका लागि कुञ्जन पौडेलले ५८औँ मिनेटमा एक गोल फर्काए। त्यसपछि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका सोजित रुचालले ६९औँ मिनेटमा गोल थपेपछि ज्योतिपुञ्जले ६–१ को फराकिलो जित सुनिश्चित गर्‍यो। ह्याट्रिकसहित उत्कृष्ट प्रदर्शन गरेका सुनिल थापा प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगिताअन्तर्गत मंगलबार पहिलो सेमिफाइनलमा बौद्ध शान्ति क्लब, पोखरा, कास्की र होराइजन क्लब, वालिङ, स्याङ्जाबीच बिहान ११:३० बजे प्रतिस्पर्धा हुनेछ। दोस्रो सेमिफाइनलमा हिल्ली फिल्डर्स गोर्खा फुटबल क्लब, दलभञ्ज्याङ, गोर्खा र ज्योतिपुञ्ज युवा क्लब, रामपुर, पाल्पाबीच दिउँसो २ बजे भिडन्त हुनेछ।

द राइजिङ ग्रुप, चापाकोट, स्याङ्जाको आयोजनामा कात्तिक १५ गतेदेखि गंगालाल माध्यमिक विद्यालय खेलमैदान, सुन्तलीटार, चापाकोटमा सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल कात्तिक १८ गते हुनेछ। प्रतियोगितामा आठ टोली सहभागी छन्। विजेताले नगद रु. ३ लाख र उपविजेताले रु. १ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई रु. ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य माननीय महेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो। उद्घाटन समारोहको अध्यक्षता आयोजक द राइजिङ ग्रुप, चापाकोटका अध्यक्ष लालबहादुर घर्तीले गरेका थिए।

Post Comments