रुपन्देहीमा दोस्रो सिद्धार्थ एफए कप शुरु
सुरज राना मगर

भैरहवा । सिद्धार्थ फुटबल एकेडेमी, सिद्धार्थनगर (भैरहवा), रुपन्देहीको आयोजनामा कार्तिक १० गते मंगलबारदेखि दोस्रो सिद्धार्थ एफए कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।

सिद्धार्थनगर–२, झण्डीबजार स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा युरी एफसीले विजयी शुरुवात गर्यो । उद्घाटन खेलमा युरीले डिएमसीमाथि १–० को जित निकाल्दै विजयी शुरुवात गरेको हो । युरीको जितमा आरुष रानाले एक मात्र निर्णायक गोल गरे ।

त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी तथा विशेष सहयोगी सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष छेदीलाल श्रीवास्तवले गरेका थिए । सो अवसरमा विशिष्ठ अतिथी अन्तर्राष्ट्रिय फुटबल प्रशिक्षक याम प्रसाद गुरुङ, झण्डीबजार आमा समूह, सिद्धार्थनगर–२, झण्डीबजारकी अध्यक्ष तिर्थ गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

आउँदो मंसिर २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक तथा व्यवस्थापक प्रिन्स गुरुङले जानकारी दिए ।

Post Comments