गछिया । सुन्दरहरैंचा नगरपालिका–७, मोरङस्थित गछिया खेल मैदानमा दोस्रो संस्करणको “गछिया गोल्ड कप” फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गछिया युवा समाजले तीव्र बनाएको छ। प्रतियोगितालाई यसपटक अझ भव्य र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित आयोजकले विभिन्न तयारी अघि बढाइरहेको जनाएको छ।
आयोजकका अनुसार यस वर्षको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ। जसमा २ वटा विदेशी टिम र काठमाडौँ उपत्यकाबाट २ वटा टिम सहभागी हुने पक्का भएको छ। बाँकी टिमहरू स्थानीय तथा राष्ट्रिय स्तरका रहने बताइएको छ।
गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले यसपटक प्रतियोगिताको पुरस्कार राशि पहिलेभन्दा बढाइने जानकारी दिएका छन्। उनले प्रतियोगितालाई क्षेत्रीय खेलकुद विकाससँगै युवा प्रतिभा पहिचान गर्ने महत्वपूर्ण मञ्चका रूपमा विस्तार गर्ने लक्ष्य रहेको बताए।
“यस पटक प्रतियोगितालाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र दर्शकमैत्री बनाउने तयारी भइरहेको छ। पुरस्कार राशिसमेत वृद्धि गरिनेछ,” अध्यक्ष दाहालले बताए।
स्थानीय खेलप्रेमी तथा युवाहरूमा उत्साह बढाउने अपेक्षासहित आयोजना हुन लागेको उक्त प्रतियोगिताले सुन्दरहरैंचा क्षेत्रको खेलकुद गतिविधिमा नयाँ ऊर्जा थप्ने विश्वास आयोजकले लिएको छ।