
सुनवल । सहज जित निकाल्दै वार्ड नम्बर ६ यहाँ जारी आठौं सुनवल मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सुनवल–७ स्थित स्थानीय खेलमैदानमा भएको प्रिक्वाटरफाइनल खेलतर्फ वार्ड नम्बर ६ ले वार्ड नम्बर ४ माथि ३–१ को प्रभावशाली जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको हो ।
खेलमा वार्ड नम्बर ६ का ललित पुन मगर म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख २६ गते शुक्रबारको प्रिक्वाटरफाइनल खेल वार्ड नम्बर १३ र वार्ड नम्बर ५ बीच हुने खेल संयोजक प्रकाश बाह्रघरेले जानकारी दिए ।
सुनवल नगरपालिका, नवलपरासीको आयोजना तथा आठौं मेयर कप सञ्चालन एवम् व्यवस्थापन समितिको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ९० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो जेठ ४ गतेका दिन हुनेछ ।