News गोदावरी मेयर कपमा काठमाडौ र ललितपुर महानगरको जित ,
गोलनेपाल

ललितपुर । दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले विजयी सुरुवात गरेका छन् । यस्तै अर्को खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकालाई हराएको छ ।

वर्षाका कारण गोदावरी १० स्थीत गोदावरी बहुउदेश्यीय रंगशालामा आइतबार स्थगीत भएको एउटा खेल च्यासल मैदानमा खेलाईएको थियो । विहानको सो खेलमा ललितपुर महानगरपालिकाले बाग्मती गाउँपालिकालाई ७–३ गोल अन्तरले हराएको छ ।

कमजोर डिफेन्सको फाइदा उठाउँदै दुबै टिमले स्कोर गरेका थिए । ललितपुरका लागि राफिल मर्हजन र निरज मर्हजनले २–२ गोल गर्दा सनि ब्यन्जनकार , विशाल बानियाँ र नवीन कर्माचार्यले थप एक एक गोल गरे । यो खेलसँगै समूह ए बाट गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाले ३–३ अंक बटुलेका छन् भने बाग्मती गाउँपालिका र महालक्ष्मी नगरपालिकाले कुनै अंक जोडेका छैनन् ।

सोमबारै एन्फा कम्पेल्स सम्पन्न अर्को खेलमा काठमाडौं महानगरपालिकाले चाँगुनारायण नगरपालिकालाई ५–० ले निराश पारिदिएको छ । डिफेन्डिङ च्याम्पियन काठमाडौंको जितमा राज पौडेलले २ गोल गर्दा अखिलेष कार्की , सरोज तामाङ र विराज मर्हजनले १–१ गोल गरे । सो गोदावरी बहुउदेश्य रंगशालामा खेलाउने तयारी भइरहँदा अकस्मात फेरी वर्षा भएपछि खेललाई सातदोबाटोको मैदानमा सारिएको थियो ।

काठमाडौं र चाँगुनारायणले मध्यपुर ठिमीसँग खेल्न बाँकी छ । गोदावरी बहुउदेश्यीय रंगशालामा सोमबार सम्पन्न भएको एक मात्र खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकालाई ५–० ले हराएको छ । दक्षिणकालीका लागि अमित तामाङले ह्याट्रिक पूरा गरे । यस्तै थप २ गोलमा एक गोल आत्मघाती उपहार र अर्को नवीन कर्माचार्यले गरे ।

अब दक्षिणकाली र कागेश्वरीले चन्द्रागिरी नगरपालिकासँग खेल्न बाँकी छ । आगामी जेठ ३ गतेसम्म चल्ने प्रतियोगितामा उपत्यकाभित्रका मा १३ वटा पालिकाको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपियाँसहित ट्रफि पुरस्कार प्रदान गरिनेछ । अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ प्रदान गरिनेछ ।

Post Comments