News ध्रुवतारा स्र्पोटिङलाई स्व. लोकराज ढुंगाना स्मृति च्यालेञ्ज कपको उपाधि
गोलनेपाल

बुद्धशान्ति । यहाँ सम्पन्न एन्फा रेफ्री स्वर्गीय लोकराज ढुंगाना स्मृति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि ध्रुवतारा स्र्पोटिङ क्लब, दमकले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा ध्रुवताराले राजगढ फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । ध्रुवताराका लागि सक्सेस राईले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।

विजेता बनेको ध्रुवतारा स्र्पोटिङले उपाधिसँगै नगद ७० हजार ट्रफी र मेडल हात पार्यो भने उपविजेतामा सीमित राजगढ फुटबल क्लबले नगद ४० हजार, ट्रफी,र मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।

त्यस्तै, म्यान अफद म्याच राजगढ फुटबल क्लबका स्याम मुर्मु चुनिए भने उत्कृष्ट गोलरक्षक ध्रुवताराका आयुस लिब्बु बने । उत्कृष्ट डिफेन्डर ध्रुवतारा कै रोशन धिमाल बन्दा उत्कृष्ट मिडफिल्डर राजगढका पवन मास्के चुनिए । सर्वाधिक गोलकर्ता विजेताको टिमको सक्सेस राई बन्दा उदीयमान खेलाडी आयोजक आदर्श युवा क्लबका सुजन मगर भए । त्यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी विजेता टिमका प्रबिन राई घोषित भए ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल फुटबल रेफ्रि संघ केन्द्रीय उपाध्यक्ष मधुसुदन खनाल, झापा जिल्ला जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments