News धनलक्ष्मी रनिङ कपः सेमिफाइनल पुग्ने चार टोलीहरुको टुंगो लाग्यो
गोलनेपाल

फेदाप । रामनवी मेला तथा धनलक्ष्मी रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनल प्रवेश गर्ने चार टोलीहरुको टुंगो लागेको छ ।

पहिलो क्वाटरफाइनलतर्फ मैन्छायन गाउँपालिकाले खेलकुद विकास समिति, सिम्लेलाई ५–१ को फराकिलो अन्तरले हरायो । मेन्छायनका लागि सुशिल राईले दुई गोल गर्दा भिम लिम्बु, निरज परियार र किरण नेपालीले एक–एक गोल गरे । उता पराजित खेलकुद विकास समिति, सिम्लेका लागि गणेश गजुरेलले एक मात्र गोल फर्काएका थिए । खेलमा मेन्छायनका सुशिल राई म्यान अफ दि म्याच चुनिए ।

दोस्रो क्वाटरफाइनलमा पोक्लाबुङ बजार व्यवस्थापन समितिले २२ इनटेक जिसीलाई टाईब्रेकरमा ४–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलमा हितेन लिम्बु म्यान अफ दि म्याच घोषित भए ।

तेस्रो क्वाटरफाइनलमा जिरिखिम्ती युवा क्लबले थ्रीस्टार क्लबलाई १–० ले हराउँदै सेमिफाइन यात्रा तय गर्यो । खेलमा जिरिखिम्तीका लागि जिवन लोहरुङले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच पनि निर्णायक गोलकर्ता जिवन लोहरुङ नै घोषित भए ।

चौथो क्वाटरफाइनलमा मकालु फ्रेण्डस क्लबले बिबिसी म्याङलुङलाई ४–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । मकालुका लागि रोशन माझीले ह्याट्रिक गर्दा रोहन माझीले थप एक गोल गरे । ह्याट्रिककर्ता रोशन माझी खेलको म्यान अफ दि म्याच समेत चुनिए ।

Post Comments