News सेन्ट्रल कलेज भरतपुर फाइनलमा
सुरज राना मगर

बुटवल । प्रतियोगितामा शानदार प्रदर्शन गरिरहेका जोना ग्लोरीले निर्णायक दुई गोल गर्दा सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब, चितवन जारी शुद्धोदन गाउँपालिका आठौं फर्साटिकर कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार शुद्धोदन–४ बर्मेलीटोल स्थित फर्साटिकर माविको खेलमैदानमा भएको दोस्रो सेमिफाइनलमा भरतपुरले चाँदनी युवा क्लब, दानापुरलाई २–० ले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

खेल शुरु भएको तेसे मिनटमै ग्लोरीले बक्स नजिकैबाट पहिलो गोलको खाता खोले । लगतै २४औं मिनटमा ग्लोरीले नै व्यक्तिगत दोस्रो गरे । पहिलो हाफमा भएको त्यो दुई गोल नै भरतपुरलाई फाइनलमा पुर्याउन प्रर्याप्त बन्यो । ग्लोरीले क्वाटरफाइनलमा पनि पाल्पा विरुद्ध प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेका थिए ।

खेलमा भरतपुरले केही राम्रा अवसरहरुलाई सदुपयोग गर्न नसक्दा गोलको अग्रता थप बढाउन सकेन । ५६औं मिनटमा रुमेश बर्तौलाको क्रस पासलाई फोडे फोफोनाले हेडर गर्दा बलले क्रसबारमा लागेर बाहिरिएको थियो । त्यसको दुई मिनट लगतै सुदान्स चौधरीले मिलाइदिएको सुन्दर पासलाई बक्स भित्र रहेका रुमेश बर्तौलाले सदुपयोग गर्न सकेनन् ।

दोस्रो हाफमा विपक्षीमाथि थप हावी बनेको भरतपुरले गोलका केही राम्रा अवसरहरुलाई चुकाउन पुग्यो । यद्यपि जितलाई भने आत्मसात गर्न सफल भयो । खेलको म्यान अफ द म्याच भरतपुर कै दुई गोलकर्ता जोना ग्लोरी घोषित भए ।

फाइनलमा भरतपुर र फूलबारी भिड्ने

प्रतियोगिता अन्तरगत बिहीबारको खेलसँगै फाइनल समिकरण पनि पूरा भएको छ । अब भरतपुरले उपाधिका लागि पुष २५ गते शनिबारका दिन फूलबारी गाईज, बुटवलको सामना गर्नेछ । स्मरणीय छ, फूलबारीले बुधबार मात्रै पहिलो सेमिफाइनलमा सुनौलो संगम युवा क्लबलाई ५–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो ।

फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले १० हजार हात पार्ने पनि आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए ।

साथै प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता संयोजक टेकु भण्डारीले बताए ।

Post Comments