News आयोजक बुट्टाबारी युनाइटेड तेस्रो बुट्टाबारी च्यालेन्ज कपको फाइनलमा प्रवेश
रमेश समदर्शी

आयोजक बुट्टाबारी युनाइटेड क्लब झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक टोलीले इलामको रेडहर्स फुटबल क्लबलाई ३–० गोलअन्तरले पाखा लगाउदै उपाधि नजिक पुगेको हो ।

बुट्टाबारी युनाइटेडको जितका लागि पहिलो हाफमा विजय राई र रोशन धिमालले गोल गरे । त्यस्तै, खेलको दोस्रो हाफमा किरण गुरुङ्गले थप एक गोल गरे । खेलको तेस्रो मिनटमै विजय राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेट बित्न नपाउदै रोशन धिमालले गोल गर्दै अग्रता दोब्बर बनाए । ७५ औं मिनेटमा किरण गुरुङ्गले थप गोल गर्दै टिमको जित शुनिश्चत गरे । खेलको प्लेयर अफ द म्याच बुट्टाबारी युनाइटेड क्लबका गोलरक्षक अभिषेक चौधरी घोषित भए । उनले नगद ३ हजार र ट्रफी पाए । भोलिको दोस्रो तथा अन्तिम सेमिफाइनल खेल बगान युथ क्लब कचनकवल र शनिश्चरे एफसी अर्जुनधाराबीच हुने क्लबका कोषाध्यक्ष बाबुराम बस्नेतले जानकारी दिए ।

बुट्टाबारी युनाइटेड क्लबले आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागीता रहेको थियो । प्रतियोगिताको विजेतालाई २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेतालाई एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष हिमाल कन्दङवाले जानकारी दिए । प्रतियोगिताको बेस्ट प्लेयरलाई १५ हजार, हाई स्कोररलाई १० हजार, राइजिङ प्लेयरलाई १० हजार र बेस्ट गोलकिपरलाई १० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।

Post Comments