News रेजिन निर्णायक बन्दा मच्छिन्द्र दोस्रो बिरगंज गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

बिरगंज । रोमाञ्चक जितका साथ मच्छिन्द्र फुटबल क्लब, काठमाडौं जारी दोस्रो बिरगंज गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा बिरगंजले चर्च ब्वाईज युनाइटेड, ललितपुरलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बन्न सफल भएको हो ।

आदर्शनगर रंगशालामा भएको खेलको ५६औं मिनटमा रेजिन सुब्बाको गोलबाट मच्छिन्द्रले खेलमा अग्रता बनाएको थियो । तर, ७६औं मिनटमा चर्च ब्वाईजका लागि डिका सर्जिले बराबरी गोल फर्काएका थिए । खेल बराबरीतर्फ लम्किरहेका बेला अन्तिमतिर फेरि रेजिन सुब्बाले नै निर्णायक गोल गर्दै मच्छिन्द्रलाई अन्तिम चारमा पुर्याए ।

खेलमा मच्छिन्द्रका रेजिन सुब्बा नै म्यान अफ दि म्याच बने । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत फागुन २१ गते बुधबारको पहिलो सेमिफाइनल खेल बिरगंज युनाइटेड, बिरगंज र साविक विजेता नेपाल पुलिस क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

भेट्रान सिटी क्लब, बिरगंजको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित मधेश प्रदेश कै सर्वाधिक धनराशी रहेको नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीले एक थान इलेक्ट्रीक स्कुटर हात पार्नेछ भने अन्य विधातर्फका उत्कृष्ट खेलाडीहरुले जनही २०–२० हजार पाउनेछन् । फाइनल खेल यही फागुन २४ गतेका दिन हुने छ।

 

Post Comments