
बिरगंज । शनिबारदेखि शुरु भएको दोस्रो बिरगंज गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा घरेलु टोली बिरगंज युनाइटेडले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा बिरगंजले गढवाल डायमन्ड एफसी, न्यु दिल्ली, भारतलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । आदर्शनगर रंगशालामा भएको खेलमा गढवाल डायमन्डका सन्दिप रानाको आत्मघाती गोल नै बिरगंजलाई जित दिलाउन निर्णायक गोल बन्यो ।
खेलमा बिरगंज युनाइटेडका बिपेन मगर प्लेयर अफ दि म्याच बने । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । यो जितसँगै बिरगंज युनाइटेड सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत फागुन १८ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल संकटा फुटबल क्लब, काठमाडौं र सलहेश युवा क्लब, सिराहाबीच हुने आयोजकले जानकारी दियो ।
भेट्रान सिटी क्लब, बिरगंजको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित मधेश प्रदेश कै सर्वाधिक धनराशी रहेको नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीले एक थान इलेक्ट्रीक स्कुटर हात पार्नेछ भने अन्य विधातर्फका उत्कृष्ट खेलाडीहरुले जनही २०–२० हजार पाउनेछन् । फाइनल खेल यही फागुन २४ गतेका दिन हुने छ।