News आयोजक हरमटारीलाई उपाधी
गोलनेपाल

गोरखा । द अन्नपुर्ण स्कुल नवौं गोर्खाली रनिङ कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक हरमटारी क्लबले जितेको छ । फाइनलमा चाइनिजधारा फेमिली क्लबलाई १–० को गोल अन्तरले हराउँदै हरमटारी बिजेता बनेको हो । हरमटारी क्लवका देव गुरुङले दोस्रो हाफको ३६औं मिनेटमा फ्रिकिक मार्फत गरेको गोल नै निर्णायक बनेको हो ।

उपाधी बिजेता हरमटारीले रनिङ कपको साथमा ४ लाख रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र पाएको छ । उपबिजेता बनेको चाइनिजधारा क्लबले भने २ लाख रुपैया नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र हात पार्यो ।

प्रतियोगिताका सर्वाधिक गोलकर्ताहरुलाई पनि पुरस्कृत गरियो । लक्ष्मी बजार हर्ट क्लवका रिचर्ड विल्सनलाई १५ हजार नगद पुरस्कार दिइएको थियो । प्रतियोगिता अवधीभर उनले ६ गोल गरेका थिए । 

हरमटारी क्लबका अनिश महतो उत्कृष्ट गोलरक्षक, सन्त बहादुर गुरुङ सबैभन्दा मूल्यवान खेलाडी र प्रसुन तामाङ्ग गोरखाका उदयमान खेलाडी घोषित भएका छन् । उनीहरुले जनही १५ हजार, २५ हजार र १० हजार नगद प्राप्त गरे । प्रतियोगितामा लक्ष्मी बजार हर्ट क्लवलाई फेयर प्ले  अवार्ड प्रदान गरियो । क्लवले नगद ३५ हजार प्राप्त गर्यो ।

हरमटारी क्लब, गोरखाको आयोजनामा फागुन ७ गतेबाट हरमटारी खेलमैदानमा शुरु भएको प्रतियोगितामा कुल १४ टिमको सहभागीता रहेको थियो ।

Post Comments