
गोरखा । जारी नवौं गोर्खाली रनिङ कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आयोजक हरमटारी क्लब र चाइनिजधारा फेमिली क्लब उपाधिका लागि भिड्ने भएका छन् ।
मंगलबार प्रतियोगिताको पहिलो सेमिफाइनलमा चाइनिजधाराले समिचौर युथ क्लबमाथि ८–१ को फराकिलो जित निकाल्दै फाइनल प्रवेश गर्यो । चाइनिजधाराको जितमा मोहित गुरुङ, गणेश हमाल र सुजित बुढाथोकीले समान २–२ गोल गरे । त्यस्तै थप दुई गोल भने पुष्कर खड्का र डोकु इसरायलले गरे । उता समिचौरका लागि भने चाइनिजधारा कै पुष्कर खड्काले आत्मघाती गोल गर्न पुगेका थिए । खेलमा चाइनिजधराका मोहित गुरुङ म्यान अफ दि म्याच चुनिए ।
त्यसैगरी मंगलबार नै भएको दोस्रो सेमिफाइनलमा आयोजक हरमटारीले लक्ष्मीबजार हर्ट क्लबलाई २–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भयो । हरमटारीको जितमा सन्त बहादुर गुरुङ्ग एक्लैले निर्णायक दुई गोल गरे । पराजित लक्ष्मीबजारका लागि भने सञ्जिव कार्कीले गोल गरेका थिए । खेलमा हरमटारीका लागि निर्णायक बनेका सन्त बहादुर गुरुङ म्यान अफ दि म्याच बने ।
अब फागुन १४ गते बुधबार हुने फाइनलमा आयोजक हरमटारी क्लब र चाइनिजधारा फेमिली क्लब उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।
स्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार हात पार्नेछ भने फेयर प्ले टिमले नगद ३५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यसबाहेक सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १५–१५ हजार हात पार्नेछन् भने उदियमान खेलाडीले १० हजार प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो ।