
गोरखा । सहज जित निकाल्दै चाइनिजधारा फुटबल क्लब र लक्ष्मीबजार हर्ट क्लब यहाँ जारी नवौं गोर्खाली रनिङ कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
हरमटारी खेलमैदानमा भएको पहिलो क्वाटरफाइनलमा चाइनिजधाराले युनिक क्लबलाई ६–० को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्यो । त्यस्तै दोस्रो क्वाटरफाइनलमा लक्ष्मीबजार हर्टले सुर्यपुर एफसीलाई ५–१ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।
प्रतियोगिता अन्तर्गत फागुन १२ गते सोमबार १ बजे हुने पहिलो खेल र तेस्रो क्वाटरफाइनलमा सुर्योदय युापरिवार र समिचौर क्लब भिड्नेछन् भने ३ बजे हुने दोस्रो खेल तथा चौथो क्वाटरफाइनलमा आयोजक हरमटारी क्लब र न्यु दौतरी युथ क्लब भिड्ने आयोजकले जानकारी दियो ।
हरमटारी क्लब, गोरखाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार हात पार्नेछ भने फेयर प्ले टिमले नगद ३५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यसबाहेक सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १५–१५ हजार हात पार्नेछन् भने उदियमान खेलाडीले १० हजार प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो । फाइनल खेल यही फागुन १४ गतेका दिन हुनेछ ।