
पनौती । श्री कुमारी क्लब र आरसिटी यहाँ जारी लक्ष्मीनारायण (लक्ष्य) स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पनौती क्षेत्रीय रंगशालामा भएको क्वाटरफाइनलतर्फ श्री कुमारीले सरस्वती ब्वाईज क्लबलाई टाईब्रेकरमा ४–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ श्री कुमारीका लागि बिनोद धमलाले दुई गोल गरे भने राजकुमार स्याङतनले थप एक गोल गरेका थिए । उता सरस्वती ब्वाईजका लागि भने दिपेश थापा, समन श्रेष्ठ र विशेष लामाले गोल गरे । टाईब्रेकरमा भने सरस्वती ब्वाईजले श्री कुमारीसँग निराश बन्न पुग्यो । खेलमा श्री कुमारीका बिनोद धमला म्यान अफ दि म्याच बने ।
त्यस्तै अर्को क्वाटरफाइनल खेलमा आरसिटीले बनेपा–११ एफसीलाई सडन डेथमा ५–४ ले हरायो । निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा आरसिटीका निखिल तामाङ म्यान अफ दि म्याच घोषित भए ।
मानेश्वरी ब्वाईज क्लब र मानेश्वरी महिला समूह, पनौती, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । कुल १८ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन १३ गतेका दिन हुनेछ ।