
धुलाबारीको इष्ट होराइजन बोर्डिङ स्कुल झापाको बिर्तामोडमा आयोजित हरिकुमार प्रसाईं मेमोरियल जिल्लास्तरीय अन्तरविद्यालय यु-१३ फुटबलको च्याम्पियन बनेको छ ।
एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा आज भएको फाइनल खेलमा बिर्तामोडको निदि स्कुललाई ३-२ गोलअन्तरले पराजित गर्दै इष्ट होराइजन च्याम्पियन बनेको हो । इष्ट होराइजनका लागि निर्जल मोहोराले २ गोल गर्दा निशान्त चौधरीको नाममा एक गोल रह्यो । निदिका लागि रिवान तिम्सिना र प्रकाश राजवंशीले गोल गरेका थिए । खेलको प्लेयर अफ दी म्याच निर्जल मोहोरा भए ।
इष्ट होराइजनकै प्रिन्स थाम्सुहाङ बेस्ट किपर, आदित्य गोले बेस्ट डिफेन्डर, हाइ स्कोरर निशान्त चौधरी र बेस्ट कोच सरोज तामाङ घोषित हुँदा बेस्ट मिडफिल्डर निदिका उज्वल जबेगु र बेस्ट फरवार्ड बाल्मिकिका दर्पण गुरुङ बने । यसैगरी, फेयर प्ले टिम देवकुल इङलिस स्कुल हुँदा इमर्जिङ प्लेयर आयोजक एभरेष्ट स्मार्टका प्रसुन गौतम भए भने बेस्ट प्लेयर इष्ट होराइजनका अविष्कार साम्यु लिम्बू बने ।
खेलाडी उत्पादन र फुटबल खेलमा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित फाइनल खेलको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गरेका थिए । विजेता तथा उपविजेता टिम तथा खेलाडीलाई झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ, एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीका प्रिन्सिपल अनुप शर्मालगायत विभिन्न विद्यालयका प्रिन्सिपलहरुले पुरस्कार वितरण गरेका थिए । एकाडेमीका संस्थापक प्रसाईंको स्मृतिमा झापाको मेचीनगर, बिर्तामोड, शिवसताक्षी, कमल र दमक नगरपालिकाकामा रहेका विद्यालयका १६ टिमहरुको सहभागिता रहेको थियो ।