News भद्रपुर झापा गोल्डकपको तयारी पूरा, विजेताले १३ लाख पाउने
रमेश समदर्शी

भद्रपुर । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक भद्रपुर झापा गोल्डकपले खेल मैदान मेची रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । फागुन ७ गतेदेखि हुने गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउन शानदार मैदान बनाइएको छ ।

करिब २० हजार दर्शक बस्न मिल्नेगरी स्थायी पक्की तथा बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ । प्रतियागिताको तयारीस्वरुप स्वागत गेटहरु निर्माण गरिएको छ । यो संस्करणको भद्रपुर झापा गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्स सहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा ११ एफसी सहभागी हुनेछन् ।

गोल्डकपमा तीन विदेशी टिम दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान, काउर्न बाजार प्रगति संघ बंगलादेश सहित १० टिम सहभागी हुनेछन् । फागुन १६ गते हुने गोल्डकपको फाइनलको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

प्रतियोगिताको उद्घाटन पूर्वउपप्रधान तथा गृहमन्त्री, राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले गर्ने गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । प्रतियोगितामा क्वार्टर फाइनलसम्मको टिकट दर २०० रुपैयाँ, सेमिफाइनलमा ३०० रुपैयाँ र फाइनलमा बाँसको प्यारापिटका लागि ३०० रुपैयाँ र पक्की प्यारापिटका लागि ५०० रुपैयाँ कायम गरिएको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

Post Comments