
पोखरा । प्रतियोगिताको शुरुवाती खेलबाटै उत्कृष्ट प्रदर्शन गरेको पाहुना टोली ब्ल्याक बुल्स फुटबल क्लब, उज्वेकिस्तानले शनिबार सम्पन्न २४औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
पोखरा रंगशालामा भएको खेलमा ब्ल्याक बुल्सले विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौंमाथि ३–१ को प्रभावशाली जित निकाल्दै प्रतियोगिताको २४औं संस्करणको विजेता बन्न सफल भएको हो । विजेता बनेको ब्ल्याक बुल्सले उपाधिसहित १२ लाख १ हजार हात पार्यो भने उपविजेता पुलिस क्लबले ६ लाख १ हजारमा चित्त बुझायो ।
विधागततर्फ पनि ब्ल्याक बुल्स कै वर्चश्व रह्यो । ब्ल्याक बुल्सका शवकाटजोन प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यसवापत उनले एक थान स्कुटर हात पारे । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि शवकाटजोनले नै हात पारे । उत्कृष्ट गोलरक्षक पनि ब्ल्याक बुल्स कै जसुरबेक बन्दा उत्कृष्ट डिफेन्डर ब्ल्याक बुल्स कै अलिजोन चुनिए ।
उत्कृष्ट मिडफिल्डर पुलिस क्लबका राम वजी बन्दा उत्कृष्ट फरवार्ड ब्ल्याक बुल्स कै अजिजबेक बने । उत्कृष्ट प्रशिक्षक पनि ब्ल्याक बुल्स कै अब्दुलाजिज घोषित भए । राइजिङ प्लेयर पुलिसका सञ्जिव लामा बन्दा थन्डरबोल्ट नर्थ युनाइटेड, भारतले फेयर प्ले पुरस्कार हात पार्यो ।
सहारा क्लब, पोखराको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा नेपाल, भारत र उज्वेकिस्तानका गरी कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।