
बागधुरा । साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी स्व. लालबहादुर–डम्मरकुमारी छन्तेल स्मृति सातौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा फर्साटिकरले झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ फर्साटिकरका लागि आशिष जिसीले गोल गरेका थिए भने झरनाका लागि रोहित सुनारले गोल गरेका थिए । टाईब्रेकरमा भने फर्साटिकरले झरनामाथि ३–२ को जित निकाल्न सफल भयो ।
खेलमा फर्साटिकरका गोलरक्षक तथा कप्तान शुभांकर जिसी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ २५ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल तिलोत्तमा नगरका दुई प्रतिद्वन्द्वी लिस्नु युवा क्लब, कोटिहवा र न्यु सृजना युवा क्लब, करौजियाबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६१,१११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल माघ २७ गतेका दिन हुनेछ ।