
पोखरा । मोफसलको प्रतिष्ठित सहारा क्लब, पोखराद्वारा वार्षिक रुपमा प्रदान गरिदै आएको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान यस वर्ष राष्ट्रिय फुटबल टोलीका युवा डिफेन्डर सनिष श्रेष्ठले पाएका छन् ।
प्रतिभा छनोट समितिको बैठकले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका हुन् । उक्त पुरस्कारको राशी नगद ५० हजार ५५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । उक्त पुरस्कार वापत्को रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रायोजन गर्दै आएका छन् ।
पुर्कोट, तनहुँका सनिष श्रेष्ठ विगत ७ वर्षदेखि फुटबल खेलिरहेका छन् । नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत सहारा क्लबले बर्सेनि एक जना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ ।
यसअघि राष्ट्रिय फुटबल टोली कै भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसकेका छन् ।
स्मरण रहोस, सहारा क्लब पोखराको आयोजनामा २४औं संस्करणको आहा! रारा पोखरा गोल्डकप मंगलबारदेखि सुरु हुँदैछ । माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा हुने सो प्रतियोगितामा १२ टिमले भाग लिँदैछन् ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लब अध्यक्ष केशवराज बरालले बताए । प्रतियोगिता उद्घाटन अवसरमै सनिषलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानद्वारा सम्मान गरिनेछ ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड