
इटहरी । लोहरुङ्ग फुटबल क्लब, संखुवासभा जारी दोस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति कप कोशी प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो सेमिफाइनलमा लोहरुङ्गले दमक एकेडेमी फुटबल क्लब, झापालाई सडन डेथमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
खेलको १६औं मिनटमा किस्मत लिम्बुको गोलबाट अग्रता बनाएको दमक एकेडेमीले त्यो अग्रता जोगाउन सकेन । उता लोहरुङ्गका लागि ६७औं मिनटमा दोर्जे तामाङले बराबरी गोल फर्काएका थिए ।
पेनाल्टी शुटआउटमा भने लोहरुङ्गले ७–६ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा लोहरुङ्गका जीवन लोहरुङ्ग खेलको म्यान अफ दि म्याच बने । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे ।
प्रतियोगिता अन्तर्गत माघ २२ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल केराबारी फुटबल क्लब, मोरङ र सिंहदेवी फुटबल क्लब, धनकुटाबीच हुने आयोजकले जानकारी दियो ।
द योङ ब्रदर्श क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २४ गतेका दिन हुनेछ ।