
अर्जुनधारा । शनिश्चरे फुटबल क्लब, अर्जुनधारा–८, झापाको आयोजनामा यही माघ ८ गतेदेखि शुरु हुन गईरहेको तेस्रो यु–१८ वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
अर्जुनधारा खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । जस अन्तर्गत माघ २० गते हुने उद्घाटन खेलमा वार्ड नम्बर ११ र वार्ड नम्बर ७ भिड्ने छन् । अर्जुनधारा नगरपालिका भित्रका कुल ११ वार्डका फुटबल टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल माघ २७ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
त्यसैगरी प्रतियोगिताको गत संस्करणबाट छनौटमा परेका एक जना उत्कृष्ट खेलाडीलाई अर्जुनधाराको वर्ष खेलाडीका रुपमा पुरस्कृत गरिने पनि आयोजकले जानकारी दियो । वर्ष खेलाडी हुने खेलाडीलाई एक थान बाइसाईकल प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।