News सभापति कपः अन्तिम क्वाटरफाइनलमा एनआरटी र फ्रेन्ड्स भिड्दै
गोलनेपाल

काठमाडौं । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा जारी सभापति कप फुटबल प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनलमा आइतबार न्युरोडटिम (एनआरटी) र फ्रेण्डस क्लब भिड्दै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे हुने खेलको नतिजाले प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा हुनेछ । अहिलेसम्म सेमिफाइनलमा सङ्कटा र मच्छिन्द्र खेल्ने पक्का भइसकेको छ । यस्तै, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद बागमती प्रदेश (आयोजक)को टोलीले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।

शनिबार आयोजकको टोलीले विभागीय क्लब नेपाल पुलिसमाथि २–१ गोलको पुनरागमन जित दर्ता गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । आज खेल्ने एनआरटी र फ्रेन्ड्सबीचको विजेताले मङ्गलवार फाइनल प्रवेशका लागि आयोजक टिमसँग खेल्ने छ ।

सोमबार फाइनल प्रवेशका लागि सङ्कटा र मच्छिन्द्र आमने सामने हुने छन् । सर्वाधिक पुरस्कार राशिको नेपाली काँग्रेसका सभापतिको नाममा सञ्चालित नकआउट प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ पाउने छ । यसैगरी उप विजेता टोलीले १३ लाखमा चित्त बुझाउने छ ।

प्रतियोगितामा प्रत्येक खेल खेल्ने टोलीले नगद ५० हजार पाइरहेका छन् भने प्लेयर अफ दी म्याचले १५ हजार पाएका छन् । लामो समयदेखि रङ्गशालामा शीर्ष क्लबका खेलहरू नभइरहेका बेला सभापति कप आयोजना हुनुलाई खेलाडी एवं खेल समर्थकमा भने उत्साह थपिएको छ । प्रतियोगिताका हेर्नका लागि १ सय र ३ सय रुपैयाँको टिकट तोकिएको छ ।

Post Comments