फर्साटिकर । छोटो समय मै राष्ट्रियस्तरमा आफूलाई उभ्याउन प्रयासरत फर्साटिकर युवा क्लब, फर्साटिकर, रुपन्देहीको आयोजनामा शनिबारदेखि शुरु शुद्धोधन गाउँपालिका १२औं फर्साटिकर कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा भैरव एफसी, नवलपरासीले उत्कृष्ट शुरुवात गरेको छ ।
शुद्धोधन–४ स्थित फर्साटिकर खेलमैदानमा भएको उद्घाटन खेलमा भैरवले साविक विजेता समपुर्ण युवा क्लब, सुपौलीलाई ६–१ को फराकिलो अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो ।
भैरवको जितमा सुरज आले मगरले प्रतियोगिता कै पहिलो ह्याट्रिक गर्ने क्रममा एक्लैले चार गोल गरे । त्यस्तै थप दुई गोल भने हरि बुढा मगर र मनिष थारुले गरे । उता समपुर्णका लागि सनम गुरुङले एक मात्र गोल फर्काएका थिए ।
खेलमा ह्याट्रिक सहित चार गोल गरेका भैरवका सुरज आले मगर प्लेयर अफ दि म्याच समेत चुनिए । यो जितसँगै भैरव क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत पुष २१ गते आइतबारको खेल शुद्धोधन खेलकुद विकास समिति, फर्साटिकर र झरना स्पोर्टस क्लब, कुञ्जलापुरबीच हुने खेल संयोजक अकरम अलीले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथ शुद्धोधन गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद बस्याल, आयोजक क्लबका अध्यक्ष मुकेश कुँवर लगायतले संयुक्त रुपमा गरेका थिए ।
आउँदो माघ २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार ५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराईले जानकारी दिए ।