
रामधुनी । उत्कृष्ट जितका साथ न्यु स्टार फुटबल क्लब, भरौल यहाँ जारी तेस्रो रामधुनी मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो सेमिफाइनलतर्फ न्यु स्टारले तालतलैया फुटबल क्लब, इटहरीलाई ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । न्यु स्टारको जितमा संजय श्रेष्ठले दुई गोल गर्दा सचिन राईले थप एक गोल गरे । पराजित तालतलैयाका लागि भने निवास फुयालले एक मात्र गोल फर्काएका थिए ।
खेलमा दुई गोल गरेका न्यु स्टारका संजय श्रेष्ठ म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत पुष ६ गते हुने फाइनलमा न्यु स्टारले एपिएफ पकलीसँग उपाधिका लागि भिड्नेछ ।
उदियमान युवा क्लब, रामधुनी–९, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ सय हात पार्नेछ भने उपविजेताले ५० हजार १ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पुष ६ गतेका दिन हुनेछ ।