News दावेदार आयोजक रानीगञ्ज उपाधि जित
सुरज राना मगर

बुटवल । उपाधिको दावेदार आयोजक रानीगञ्ज युवा क्लब रुपन्देहीमा जारी तेस्रो रानीगञ्ज कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो सेमिफाइनलमा रानीगञ्जले बुटवल मिड टाउन युवा क्लबलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । बुटवल–१७ रानीगञ्ज स्थित भूपू सैनिक खेलमैदानमा भएको खेलमा रानीगञ्जले आश गुरुङको हेड गोलसँगै खेलमा शुरुवाती अग्रता बनाएको थियो ।

तर खेलको ४३औं मिनटमा मिड टाउनका आशिष रानाले गोल गर्दै खेललाई रोमाञ्चक १–१ को बराबरीमा ल्याएका थिए । बराबरी गोल खाएसँगै थप आक्रमक बनेको रानीगञ्जका लागि ५०औं मिनटमा शरद क्षेत्रीले दोस्रो गोल गरे । त्यसलगतै ६५औं मिनटमा बक्स भित्र रहेका कान्छा गुरुङले तेस्रो गोल गर्दै आयोजकको प्रभावशाली जित पक्का गरे ।

बुधबार खेलको म्यान अफ द म्याच भने पराजित मिड टाउनका आशिष राना घोषित भए । उनलाई आयोजक क्लबकै मुख्य सल्लाहकार नाथू थारुले पुरस्कृत गरे ।

उपाधिका लागि आयोजक रानीगञ्ज र फर्साटिकर भिड्ने

बुधबारको जितसँगै फाइनलमा पुगेको आयोजक रानीगञ्जले उपाधिका लागि फाइनलमा फर्साटिकर युवा क्लबको सामना गर्नेछ । फर्साटिकरले मंगलबार मात्र भएको पहिलो सेमिफाइनलमा सौभाग्य युवा क्लबलाई ४–० ले हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ । फाइनल खेल आउँदो पौष ४ गते शनिबारका दिन हुने आयोजक क्लबका खेल संयोजक आशिष मगरले जानकारी दिए ।

रानीगञ्ज युवा क्लब, बुटवल–१७ रानीगञ्जको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । त्यस्तै अन्य विधागत तर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष धन बहादुर ठकुरीले बताए ।

Post Comments