
खाँदबारी । सितलपाटी फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लब यहाँ जारी आठौं पाङ्मा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा सितलपाटीले एडभान्स क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ सितलपाटीका लागि सनिस लिम्बुले गोल गरेका थिए भने एडभान्सले भने विपक्षी टोलीको आत्मघाती गोल उपहार पाएको थियो । निर्धारित समयको खेल बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा सितलपाटी ५–३ ले विजयी बन्यो । खेलमा सितलपाटीका सनिस लिम्बु घोषित भए ।
त्यस्तै अर्को क्वाटरफाइनलमा सेकाहाले मकालु फ्रेण्डस क्लबलाई सडन डेथमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरबाट पनि नतिजा निस्किन नसक्दा सडन डेथमा सेकाहा ९–८ ले विजयी बन्यो । खेलमा सेकाहाका गोलरक्षक आसिब राई म्यान अफ दि म्याच घोषित भए ।
लोहोरुङ क्लब, खाँदबारी–४, संखुवासभाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल पुष १ गतेका दिन हुनेछ ।