
कोल्हुवा । कपिलवस्तु-११ यहाँ जारी सातौं राईनो गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न प्रीक्वाटरफाइनलतर्फ कपिलवस्तुले बिरगंज युनाइटेड, बिरगंजलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।
त्यसअघि राईनो रंगशालामा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । पेनाल्टी शुटआउटमा भने कपिलवस्तुले ५-४ को जित निकाल्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
खेलमा कपिलवस्तुका सबी गुरुङ म्यान अफ दि म्याच चुनिए । उनले पुरस्कार बापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत कार्तिक ५ गते सोमबारको खेल फर्साटिकर युवा क्लब, रुपन्देही र नमुना युवा क्लब, कावासोतीबीच हुने आयोजकले जानकारी दियो ।
राईनो क्लब, मध्यविन्दु-४, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो कार्तिक १४ गतेका दिन हुनेछ ।