News झापा एफसीलाई अर्जुनधारामा फुटबलको उपाधि
रमेश समदर्शी

झापा । डासाब युवा क्लब अर्जुनधारा झापाले आयोजना गरेको दोस्रो प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि झापा एफसीले जितेको छ ।

स्पर्धी इलाम तिनघरेको न्यू भिजन युथ क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै झापा एफसीले उपाधि हात पार्यो । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

तर, दोस्रो हाफमा झापाले गोल गर्दै अग्रता लिएको हो । झापाका लागि दिपेश श्रेष्ठले गोल गरेका हुन् भने इलामले केही मिनेटमै गोल गरेर खेलमा फर्किएको थियो । झापाका गोलरक्षक आयुश योङहाङको सानो गल्तीको फाइदा उठाउँदै इलामका रमेश क्षेत्रीले बराबरी गोल गरे ।

यसैबीच, खेल सकिन करिब ५ मिनेट बाँकी रहँदा झापाका श्याम मुर्मूको प्रहार पोस्टमा लाग्दै भित्रिँदा सञ्जय धिमालले गोल गरेर टोलीको जित सुनिश्चित गरेका हुन् ।

खेलको बेस्ट प्लेयर भने इलामका रमेश क्षेत्री घोषित भए । अन्य विधागत पुरस्कारतर्फ झापाको बर्चश्व रह्यो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आयुश योङहाङ, श्याम मुर्मू बेस्ट मिडफिल्डर, रोशन धिमाल बेस्ट डिफेन्स, दिपेश श्रेष्ठ प्लेयर अफ दी म्याच बने ।

यसैगरी, आयोजकका हरि मगर सर्वाधिक गोलकर्ता बन्दा आयोजककै मिराज मल्ल उदीयमान खेलाडी घोषित भए । उनीहरुले जनही एक हजार पाँच सय रुपैयाँ पाए । विजेता झापा एफसीले नगद ५० हजार, उपविजेताले नगद ३० हजार र आकर्षक ट्रफी पायो ।

Post Comments