
काठमाडौं । सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका एन्फा एकेडेमीका ६ बाल खेलाडीहरुको परिवारलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले राहत स्वरुप ८ लाख रुपैइाँ उपलब्ध गराउने भएको छ । एन्फाको आइतबार बसेको आकस्मिक बैठकले सो कुराको निर्णय गरेको हो ।
त्यसबाहेक दिवंगत खेलाडीका परिवारहरुले चाहेको स्थन र क्षेत्रमा एन्फाबाट दुई लाखको अक्षयकोष खोल्ने निर्णय समेत गरेको छ । साथै उक्त कोषमा अन्य शुभचिन्तकहरुलाई सहयोग गर्न अनुरोध समेत गर्ने बताइएको छ ।
त्यस्तै एन्फाले आयोजना गर्ने छात्र स्कुल प्रतियोगितामा दिवंगत ६ बाल खेलाडीहरुको स्मृतिमा आयोजना गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी दिवंगत भएका खेलाडीहरुको शालिक उनीहरुले अध्ययन गरेको वात्सल्यदेवी माविमा निर्माण गर्न पहल गर्ने निर्णय पनि भएको छ ।
निधन भएका खेलाडीहरुको परिवारलाई थप सहयोगका लागि फिफा र एएफसी समक्ष अनुरोध गर्ने पनि बताइएको छ । त्यस्तै उक्त घट्नाबारे सत्य तथ्य विवरण संकलन गरी यथार्थ प्रतिवेदन १ महिना भित्र बुझाउने गरी तीन सदस्यीय समिति समेट गठन गरिएको छ ।
जसको संयोजकमा एन्फाका केन्द्रिय सदस्य विकास नारायण श्रेष्ठ रहेका छन् । र सदस्यहरुमा एन्फाका केन्द्रिय सदस्य टिकाराम लामा र एन्फाका सहायक महासचिव दामोदर भट्टराई रहेका छन् ।
स्मरण रहोस, गत साता सिस्नेरीमा आएको पहिरोमा परी एन्फाद्वारा मकवानपुरमा सञ्चालित एकेडेमीमा प्रशिक्षणरत ६ बाल खेलाडीहरु आदित्य बलम्पाखी, बिकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमन योञ्जनले ज्यान गुमाएका थिए ।
निधन भएका बाल खेलाडीहरुप्रति एन्फा महासचिव किरन राईले फेरि पनि दुःख व्यक्त गरे । ज्यान गुमाएका सबै बाल खेलाडीहरु देश कै छोराहरु भएको बताउँदै उनीहरुको निधनले सिंगो एन्फा परिवार मर्माहत र विक्षिप्त रहेको बताए । उनले यो अपूरणीय क्षतिबारे आफूहरु पिडामा रहेको बताउँदै शोकमा रहेका परिवारहरुलाई आफूहरुले छिटै गएर भेटघाट गर्ने समेत बताए ।
हेर्नुहोस निर्णयहरुः