News राजाबासलाई सेमिफाइनल पुग्न टाईब्रेकरको सहारा
गोलनेपाल

प्रकाशपुर । टाईब्रेकरमा जित निकाल्दै राजाबास युथ क्लब, राजाबास यहाँ जारी सातौं प्रकाशपुर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

बिहीबार सम्पन्न तेस्रो क्वाटरफाइनलतर्फ राजाबासले न्यु स्टार एकेडेमी, भरौललाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ राजाबासका लागि दुवै गोल खमिर गिलसन कन्दङगवाले गरे । उता न्यु स्टारका लागि भने अनिल चौधरी र अशोक खवासले गोल गरेका थिए । टाईब्रेकरमा भने राजाबासले नतिजा ५–४ ले आफ्नो पक्षमा पार्यो ।

खेलमा राजाबासका लागि निर्धारित समयतर्फ दुई गोल गरेका खमिर गिलसन खेलको म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत असोज १८ गते शुक्रबारको चौथो क्वाटरफाइनल खेल मधेसा फुटबल क्लब, मधेसा र आयोजक प्रकाशपुर फुटबल क्लब, बराहक्षेत्र बीच हुनेछ ।

प्रकाशपुर फुटबल क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही असोज २२ गतेका दिन हुनेछ ।

Post Comments