
भरतपुर फुटबल क्लब बिएफसीको आयोजनामा जारी गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्ड कपको फाइनल खेल स्थगित भएको छ ।
अविरल वर्षाका कारण आज हुने भनिएको फाइनल खेल स्थगित भएको हो । क्लबले आज बिहान एक विज्ञप्ति जारी गर्दै शुक्रबारदेखिको अविरल वर्षाका कारण उपाधि भिडन्त आजका लागि स्थगित भएको जानकारी दिएको छ ।
आजका लागि स्थगित भएको फाइनल खेल भोलि (आइतबार) दिउँसो ३ बजे हुने प्रतियोगिता संयोजक धुर्व भुसालले जानकारी दिए । नेपाल प्रहरी शिक्षालयको मैदानमा जारी प्रतियोगितामा बुटवल लुम्बिनी एफसी र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल तथा सह प्रायोजकमा हानामी ईन्टरनेशनल एजुकेसन रहेका छन् । बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धक संस्था हुन् ।