News ग्लोरी नायक बन्दा बुटवल लुम्बिनी सेमिफाइनलमा
गोलनेपाल

चितवन । जोन ग्लोरीले दुई गोल गरेपछि बुटवल लुम्बिनी फुटबल क्लब यहाँ जारी गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बुटवल लुम्बिनीले न्यु स्टार एफसी सुनसरीलाई २-० ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । उसको जितमा जोन ग्लोरी नायक बने । दुबै गोल उनले नै गरेक हुन् ।

खेलमा पहिलो हाफको ३९ औं मिनेटमा गोल गर्दै ग्लोरीले बुटवललाई अग्रता दिलाएका थिए । ग्लोरीले नै दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । बाँकी समयमा थप गोल हुन सकेन र बुटवल लुम्बिनी २-० ले विजयी भयो । बुटवलको जितमा दुबै गोल गरेका ग्लोरी म्यान अफ दि म्याच भए ।

प्रतियोगितामा भोलि वीरगन्ज युनाइटेड र विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौं भिड्नेछन् । खेल दिउँसो ३:३० बजे हुनेछ । असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १५, विधागत उत्कृष्टले १० तथा म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Post Comments