News अन्तर्राष्ट्रिय फुटबलमा आज नेपालका दुई युथ टोलीको खेल
गोलनेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत साफ यु–१७ च्याम्पियनसिप र एएफसी यु–२० एसियन कप छनौटमा आज नेपालका दुई युथ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

भुटानमा शुक्रबारदेखि शुरु भएको साफ यु–१७ च्याम्पियनसिपतर्फ समूह बी मा रहेको नेपालले आज पाकिस्तानको सामना गर्दैछ । थिम्पु स्थित चाङलिमिङ स्टेडियममा हुने नेपाल र पाकिस्तान बीचको खेल नेपाली समय अनुसार १ः४५ बजेदेखि शुरु हुनेछ ।

तयस्तै नेपाल कै समूहमा रहेका आयोजक भुटानले आज नै हुने दोस्रो खेलमा श्रीलंकासँग खेल्ने कार्यक्रम छ । स्मरण रहोस, प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार समूह ए तर्फ साविक विजेता भारतले बंगलादेशलाई हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको थियो ।

प्रतियोगिताको समूह ए मा भारत, बंगलादेश र माल्दिभ्स रहेका छन् भने समूह बी मा भुटान, नेपाल, पाकिस्तान र श्रीलंका रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोलीसेमिफाइनलमा प्रवेश गर्नेछन् ।

एएफसी यु–२० एसियन कप छनौटमा नेपालको प्रतिद्वन्द्वी कम्बोडिया

त्यस्तै एएफसी यु–२० एसियन कप छनौट प्रतियोगिता अन्तर्गत पनि समूह बी मै रहेको नेपालले आज आफ्नो पहिलो खेल कम्बोडियासँग खेल्दैछ ।

चाइनिज ताइपेईको न्यु ताइपेई सिटीमा हुने नेपाल र कम्बोडिया बीचको खेल नेपाली समय अनुसार दिनको १२ः४५ बजेदेखि शुरु हुनेछ । आजै हुने सोही समूहको अर्को खेलमा आयोजक चाइनिज ताइपेईले बलियो बहराईनको सामना गर्नेछ ।

समूहको शिर्ष टोली अर्को वर्ष चीनमा हुने एएफसी यु–२० एसियन कपका लागि सोझै छनौट हुनेछ । त्यस्तै दोस्रो स्थानमा रहने टोलीको पनि उत्कृष्ट समूह उपविजेताका रुपमा छनौट हुने सम्भावना कायम रहनेछ ।

Post Comments